हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसभित्र कुनै गुटउपगुट नभएको बताउँदै गाउँ–टोलमै विकास निर्माणका कार्य अघि बढाउँदै संगठन निर्माणमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
कांग्रेस थाहा नगरपालिका र मकवानपुर क्षेत्र नं. २ (क) को संयुक्त आयोजनामा पालुङमा आइतबार स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा देखिनेगरी विकास, छिटो र सहज सरकारी सेवा प्रवाह गर्दै विगतझैं आगामी निर्वाचनमा पनि कांग्रेसलाई पहिलो पार्टी बनाउने लक्ष्य लिएको स्पष्ट गर्नुभयो ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहनुभएका उहाँले जनताको करबाट उठेको रकम जनताकै हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै दशैं अगावै निर्वाचन क्षेत्रका विपन्न परिवारलाई आवास निर्माण गरिदिने घोषणा गर्नुभयो ।
“गणतन्त्रमा सबै विचार र व्यवस्थालाई मिलाएर लैजानुपर्छ, गफले होइन काम गरेर देखाउनुपर्ने अवस्था आएको छ,” मुख्यमन्त्री बानियाँले भन्नुभयो, “अब जनप्रतिनिधिहरुले पार्टीसँग समन्वय गरेर जनताको समस्या समाधान र स्थानीय आवश्यकताअनुसार विकासमा लाग्नुपर्छ ।”
कांग्रेस थाहानगर सभापति प्रमोद जोशीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस थाहानगरका पदाधिकारी, सदस्य र क्रियाशील कार्यकर्ताको उपस्थिति रहेको थियो ।

















