प्रेस युनियन मकवानपुरको विशेष अभियान : महासंघलाई फ्यान, सञ्चारिकालाई कुर्सी हस्तान्तरण

Image

हेटौंडा/ नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सोमबारदेखि एक सय दिने सदस्यता विशेष अभियान सुरु गरेको छ । हेटौंडामा अभियान शुभारम्भ गर्दै युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान फ्यान (पंखा) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था तथा संगठनलाई सहयोग र प्रोत्साहन दिनु युनियनको प्राथमिकता रहेको बताए । उनले सामाग्री हस्तान्तरणले पत्रकारहरुबीच आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिका समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा, मकवानपुर अध्यक्ष निशा गुरुङलगायत पत्रकारहरुको उपस्थिति थियो ।

मकवानपुर प्रेस युनियन श्रमजीवी पत्रकारहरुको हकहितका लागि सशक्त आवाज उठाउने अग्रणी संस्थामध्ये एक हो । विभिन्न समयमा चलायमान र सक्रिय रहँदै आएको मकवानपुर शाखालाई युनियनको केन्द्रीय समितिले निरन्तर प्रशंसा गर्दै आएको छ ।