प्रगति मावि पुगेर सांसद सिंहको प्रतिवद्धता : “सामुदायिक विद्यालयलाई सुविधा सम्पन्न बनाउँछु”

Image

हेटौंडा / मकवानपुर क्षेत्र नम्बर १ का संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नेपालका सामुदायिक विद्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

सोमबार हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको अवलोकन गर्दै सांसद सिंहले गरिब तथा आर्थिक रूपमा पछाडि परेका बालबालिकालाई योग्य बनाउन सामुदायिक विद्यालयलाई सुदृढ बनाउने आवश्यक रहेको औंल्याए । “हरेक नागरिक योग्य बन्न सके राष्ट्र नै योग्य हुन्छ,” सिंहले भने । उनले हाल १२ कक्षा सक्नेबित्तिकै विदेशिने प्रवृत्ति बढिरहेको भन्दै शिक्षा अब स्वदेशको माटो चिनाउने खालको हुनुपर्नेमा जोड दिए ।

प्रगति माविले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको आफूले सुनेको बताउँदै उनले अन्य विद्यालयले पनि यसबाट उदाहरण लिनुपर्ने उल्लेख गरे । साथै, शिक्षकलाई आफ्ना विद्यार्थीलाई आफ्नै छोराछोरीजस्तै गरी पढाउन आग्रह गरे । विद्यालयमा छात्रावास निर्माण र आवश्यक थप भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत सांसद सिंहले जनाए ।

सो अवसरमा प्रगति माविका प्रधानाध्यापक किशोर पराजुलीले विद्यालयको विगतदेखि हालसम्मको अवस्था प्रस्तुत गरे भने व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने र शिक्षक अभिभावक संघकी अध्यक्ष हिरा भट्टले विद्यालयको भौतिक संरचना र आवश्यक बजेटबारे जानकारी तथा अनुरोध गरेका थिए ।

कार्यक्रममा शिक्षक, व्यवस्थापन समिति तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । प्रगति मावि यस वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल सामुदायिक विद्यालयका रूपमा स्थापित भएको छ ।