स्वास्थ्यमन्त्री थापाद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षाहरुको अवलोकन

Image

हेटौंडा/ बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मङ्गलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेका विभिन्न शैक्षिक कार्यक्रम र कक्षाहरुको विस्तृत अवलोकन गर्नुभएको छ ।
मन्त्री थापाले नलेज भिलेज, गौरीटार, हुप्रचौरस्थित कक्षाहरु र अनुसन्धान केन्द्रको अवलोकन गर्दै आवश्यक निर्देशनसमेत दिनुभयो । अनुगमनपछि उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएका आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै ती अस्पतालमा सेवा विस्तारका लागि आवश्यक दक्ष जनशक्ति यही प्रतिष्ठानबाट उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

यस अवसरमा मन्त्री थापाले प्रतिष्ठानले छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल गरेको भन्दै यसलाई स्थापित गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । छिटोभन्दा छिटो आफ्नै भवन निर्माण सम्पन्न गरी त्यहीँबाट कक्षा सुचारु गर्ने तयारीमा सरकार रहेको उहाँले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि प्रतिष्ठानलाई ५० सिटका लागि एमबीबीएस (MBBS) कार्यक्रम सञ्चालन गर्ने स्वीकृति प्रदान गरिसकेको छ । यसअघि नै यहाँ बीएस्सी नर्सिङ (BSc Nursing), मेडिकल ल्याब टेक्नोलोजी (BMLT), पब्लिक हेल्थ (BPH) र ब्याचलर अफ फार्मेसी (B-Pharmacy) जस्ता स्नातक तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

यसबाहेक यसै शैक्षिक वर्षदेखि मास्टर तह (MD) का सात विषय—स्त्री तथा प्रसूति, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा अध्यापन सुरु हुने भएको छ ।

अनुगमन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष डा. दिनेश कुमार लम्साललगायतको सहभागिता रहेको थियो ।