नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने ४ जना हेटौंडा ११ सिमलट बाट पक्राउ

Image

हेटौंडा/ नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने गिरोहका ४ जना मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
३ गते साँझ करिब ६ बजे विशेष सूचनाको आधारमा हेटौंडा उप–महानगरपालिका वडा नं.११ सिमलटार त्रिवेणीचोक नजिकै भाडाको कोठामा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्य बहादुर नेगी, सोही गाउँपालिकाको वडा नं.७ का ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ भाल्चेका ४८ वर्षीय नाम्केल तामाङ रहेका छन्।

तलासीका क्रममा उनीहरूको साथबाट PAMP लेखिएको सुनजस्तो देखिने पहेँलो धातु ५० थान फेला परेको प्रहरीले जनाएको छ। परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पठाउँदा तीमध्ये ४९ थान नक्कली र १ थान (१० ग्राम, मूल्य रु. १,६७,६९५) सक्कली रहेको पुष्टि भएको हो।

बरामद भएको सक्कली सुनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ भने बाँकी नक्कली धातु सहित पक्राउ परेकाहरूलाई ठगी उद्योग कसुरमा म्याद थप गरी मकवानपुर जिल्ला अदालत हेटौडाबाट थप अनुसन्धान भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।