हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–२ (ख) मा पहिलो औपचारिक भ्रमण गर्दै जनतासँग प्रत्यक्ष संवाद गरे र जनमुखी विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उनले गरिबमुखी, आयमुखी, न्यायमुखी तथा समग्र विकासमुखी कार्यक्रममार्फत प्रदेशलाई अगाडि बढाउने अठोट दोहोर्याउनु भयो।
मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा मुख्यमन्त्री बानियाँले मनहरीका जनताले गरेको योगदानकै कारण आफू मुख्यमन्त्री बन्न सफल भएको बताए।
उनले सबै मतदाताको भावना र अपेक्षालाई ध्यानमा राख्दै निष्पक्ष ढंगले जिम्मेवारी पूरा गर्ने र सबैको आवश्यकतालाई प्राथमिकतामा राख्ने बताउनुभयो।
मुख्यमन्त्री बानियाँले लामिटार–चकरी–मकरी सडक छिट्टै कालोपत्रे गर्ने, पुल, सडक र अन्य पूर्वाधारमा विशेष ध्यान दिने आश्वासन दिएका छन्। उनले हरितालिका तीज सभ्य र सुसंस्कृत ढंगले मनाउन सुझावसमेत दिनुभयो।
कार्यक्रम गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ लगायत उपस्थित थिए। गाउँपालिकाले आफ्नै क्षेत्रबाट निर्वाचित सांसद बानियाँ मुख्यमन्त्री बनेकोमा बधाई ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेको थियो।
मुख्यमन्त्री बानियाँले सोही दिन मनहरीस्थित आफ्नै सम्पर्क कार्यालयमा पुगेर स्थानीय नागरिकका समस्या र गुनासा सुन्ने काम पनि गर्नुभएको छ।

















