हेटौंडा / हेटौंडा–४ नं. वडा कार्यालयको प्रवर्द्धनमा तथा सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा गाइजात्रा पर्वको अवसरमा भदौ ४ गते ओम्याक्स सिनेमा हलमा सिस्नुपानी हास्यव्यङ्ग्यमय गाइजात्रा कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
“भाषा, साहित्य र सँस्कृतिकाे प्रवर्धन, कला र कलाकारकाे सम्मान हाम्राे अभियान” भन्ने मूलनाराका साथ आयोजना गरिएको यस कार्यक्रममा हास्य, व्यङ्ग्य, गीत र कविताको अनुपम संगम प्रस्तुत गर्दै दर्शकहरूलाई मनोरञ्जनका साथै सामाजिक सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रिय गानमार्फत गरिएको थियो। सभाध्यक्ष संप्रस पौडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दा हास्यव्यङ्ग्यमय शैलीमा कार्यक्रमको उद्देश्य उजागर गरे। हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले यसलाई “नितान्त फरक र पृथक शैलीको कार्यक्रम” भन्दै कलाकारहरूको उत्साहवर्द्धन गरे। मेयर मिना लामाले वडाको सक्रिय कार्यशैलीको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोच र चेतना फैलाउने बताइन्।
कार्यक्रमका प्रमुख प्रस्तुतीहरूमा राजकुमार लामिछानेको नीति तथा कार्यक्रम, सागर तिमल्सिनाको गीत, “मर्निङ वाक” हास्यप्रहसन, सुमार्गी हुमागाईंको राजनीतिक व्यङ्ग्यात्मक गीत र समाचार क्यारिकेचर, गोविन्द पौडेलको व्यङ्ग्य कवितासहित गहन खतिवडाको “वीरपूर्खाले आर्जेको बोल” गीत विशेष आकर्षण बने। गायक अजर फुयाँलको प्यारोडी गायनले दर्शकलाई अन्तिममा नाचगानमा मस्त बनाएको थियो।
वाद्यवादनमा प्रलय चौलागाईं, विश्वराज अधिकारी, सुनिल केसीलगायतका कलाकारहरूले उत्कृष्ट साथ दिएका थिए।
दर्शकहरूले कार्यक्रमलाई “भव्य, सभ्य र सन्देशमूलक” भन्दै प्रशंसा गरेका छन्। मनोरञ्जनसँगै सामाजिक चेतना जगाउने खालको यस गाइजात्रा कार्यक्रमले हेटौंडामा फरक प्रभाव पारेको सहभागीहरूको भनाइ छ।

















