हेटौंडा/सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिक सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ।
प्रहरीका अनुसार मृतक रौतहटको माधवनारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह हुन्। उनको स्थायी घर भारतको मुजफ्फरपुरमा रहेको छ। रुवीकुमारी हाल एक महिनादेखि माधवपट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। उनका एक छोरा रहेको प्रहरीले जनाएको छ।
शनिबार राति करिब साढे १० बजे सडक किनारमा बेवारिसे अवस्थामा सुटकेस भेटिएपछि प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो। आइतबार बिहान सुटकेस खोल्दा रस्सीले बाँधिएको र सल तथा डोरीले घाँटी बेरिएको अवस्थामा रुवीकुमारीको शव फेला परेको प्रहरीले जनाएको छ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनलाई हत्या गरी सुटकेसभित्र राखी फालिएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकका आफन्त समेत प्रहरी सम्पर्कमा आइसकेको उनले जानकारी दिए।

















