हेटौंडा/ वीरगञ्ज महानगरपालिकामा हैजाको संक्रमण तीव्र गतिमा समुदायस्तरमै फैलिन थालेपछि आइतबार र सोमबार दुई दिनका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार सामुदायिक तथा निजी विद्यालयहरूमा पठनपाठन अस्थायी रूपमा स्थगित गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने १२९ जना संक्रमित आशंकित बिरामी उपचाररत छन् ।
महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ मा संक्रमण बढी देखिएको छ । ठाकुरका अनुसार अवस्था महामारीको रूप लिएको छ ।
यसैबीच, संक्रमणको वास्तविक कारण पहिचान गर्न ११ स्थानका पानीका नमुना संकलन गरी काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको जनाइएको छ ।

















