हेटौंडामा हैजा र झाडापखलाको उच्च जोखिम : खानेपानी बोर्डद्वारा सतर्कता जारी

Image

हेटौंडा/ देशका विभिन्न स्थानमा फैलिएको हैजा तथा झाडापखलाको महामारी छिमेकी जिल्ला पर्साको वीरगञ्जसम्म फैलिएको र सो क्षेत्र मकवानपुरसँग सीमाना जोडिएको हुनाले हेटौंडा क्षेत्रमा समेत उच्च जोखिम रहेको चेतावनी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दिएको छ।

बोर्डले आइतबार सार्वजनिक गरेको सूचनामा रोग फैलिन नदिन तत्काल सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिएको छ। “हैजा र झाडापखला जस्ता महामारीजन्य रोगको रोकथाम सबैको साझा जिम्मेवारी हो,” सूचनामा उल्लेख छ।

बोर्डले अपील गर्दै पिउने पानी अनिवार्य उमालेर वा पियूष, वाटर गार्ड, क्लोरिन प्रयोग गरी मात्र सुरक्षित रुपमा पिउन, खानपानमा विशेष ध्यान दिन, खानेकुरा राम्ररी पकाएर मात्र सेवन गर्ने र फलफूल तथा काँचो खानेकुरालाई शुद्ध पानीले धोएर मात्र प्रयोग गर्न सुझाव दिएको छ। साथै, नियमित रूपमा सरसफाइमा ध्यान दिन, हात धुने बानी बसाल्न र वरपर सफा राख्न समेत अनुरोध गरिएको छ।

खानेपानीको गुणस्तर जाँच गर्न बोर्डको कार्यालय वा हेटौंडा उपमहानगरपालिकामा रहेको प्रयोगशालामा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ। त्यस्तै, कतै पाइप फुटी पानी लिकेज भएमा तत्काल बोर्डलाई जानकारी गराउन आग्रह गरिएको छ।