हेटौंडा क्याम्पसमा अनेरास्ववियुद्वारा विद्यार्थी प्रशिक्षण कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्लस टु क्याम्पस कमिटीले हेटौंडा क्याम्पसमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।

क्याम्पस कमिटीका संयोजक रिजन जिसीको सभाध्यक्षतामा तथा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य र बागमती प्रदेश इञ्चार्ज नितेश लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी आन्दोलनको दिशा, दक्ष जनशक्ति उत्पादनमा भूमिका र युवा उद्यमशीलतामा योगदानलगायतका विषयमा गहन छलफल भएको थियो।

प्रमुख वक्ताका रूपमा नेकपा एमाले मकवानपुरका जनसंगठन संयन्त्र प्रमुख सन्तोष पाडेलले संगठनमा जनसंगठनको भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिए। विद्यार्थी इञ्चार्ज आकाश अधिकारीले अनेरास्ववियुलाई सक्रिय र सशक्त बनाउने आवश्यकता औंल्याए। उनले संगठनलाई केवल नेता उत्पादन गर्ने नर्सरी मात्र नभई दक्ष जनशक्ति, उद्यमी र सामाजिक नेतृत्व विकास गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए।

पार्टी जिल्ला कमिटी सदस्य शिवहरि दाहालले अनेरास्ववियुको इतिहास र परिचयबारे जानकारी गराए। अनेरास्ववियु केन्द्रीय सदस्य नितेश लामिछानेले विद्यार्थीको वर्तमान आवश्यकता अनुसार जेन्जी पुस्तालाई लक्षित गरी संगठन अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले आगामी कार्ययोजना प्रस्तुत गरे।

कार्यक्रममा क्याम्पस अध्यक्ष अभि मैनाली, भरतमोहन देवकोटा र अन्य नेताहरुको पनि उपस्थिती रहेको थियो।