शिक्षा विधेयकविरुद्ध मकवानपुरमा निजी विद्यालय सञ्चालकहरूको चेतावनीपूर्ण प्रदर्शन

Image

हेटौंडा / शिक्षा विधेयकका विवादास्पद प्रावधानविरुद्ध निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुर र नगर प्याब्सन हेटौंडाले सोमबार कोणसभा र विरोध प्रदर्शन गरेका छन्।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी र नगर प्याब्सन हेटौंडाका अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वमा मण्डलादेखि सुरु भएको प्रदर्शन बिजुलीबजार हुँदै मानसचोक, पिपलबोट, सिमाचोक पार गर्दै प्रदेशसभा चोकमा कोणसभामा परिणत भएको थियो। कार्यक्रममा प्याब्सन, एनप्याब्सन, हिसान, अपेनसहितका निजी विद्यालय संगठनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यालय सञ्चालकहरूले कालोपट्टी बाँधेर सहभागिता जनाएका थिए। उनीहरूले शिक्षा विधेयकमा उल्लेख गरिएका ‘पूर्ण छात्रवृत्ति’ र ‘गैरनाफामूलक’ जस्ता प्रावधान खारेज गर्नुपर्ने माग राख्दै सरकारलाई कडा चेतावनीसमेत दिएका छन्। माग बेवास्ता भए आन्दोलन अझ तीव्र बनाउने घोषणा गरिएको छ।

निजी विद्यालय सञ्चालकहरूको प्रमुख माग :
१. ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने।
२. विद्यालयले उत्पादन नगर्ने सामग्री (पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा) उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने।
३. कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउन खोजिएको व्यवस्था खारेज गर्नुपर्ने।
४. छात्रवृत्ति वितरण अधिकार विद्यालयमै रहने, पालिका प्रतिनिधिसहित पारदर्शी समिति बनाएर मात्र वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने।
५. छात्रवृत्ति ऐन २०२१, नियमावली २०६० र संशोधन ऐन २०७७ अन्तर्गत रहेका विभेदकारी प्रावधान हटाउनुपर्ने— विशेष गरी सामुदायिक विद्यालयमा मात्रै पढेका विद्यार्थीलाई आरक्षण दिने व्यवस्था खारेज गर्नुपर्ने।

निजी विद्यालय सञ्चालकहरूले माग सम्बोधन नगरे सरकारविरुद्ध अझ कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन्।