मकवानपुरको बाघझोरा खोलाको दीर्घकालीन समाधानका लागि सांसद बतौलाको सक्रिय पहल

Image

हेटौंडा / मकवानपुर क्षेत्र नं.–२ का सांसद महेश कुमार बतौलाले त्रिभुवन राजमार्ग अन्तर्गत हेटौंडा–भैसे सडकखण्डमा पर्ने बाघझोरा खोलाको बारम्बार दोहोरिने समस्या समाधानका लागि उच्च तहमा पहल गरेका छन्।

सोमबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहाल र मन्त्रालयका सचिव केशव कुमार शर्मालाई भेटी ज्ञापनपत्र बुझाउँदै खोलाले निम्त्याइरहने सडक अवरोधको दीर्घकालीन समाधान तत्काल खोज्न आग्रह गरे।

सांसद बतौलाले “खहरे बाढीले बारम्बार सडक अवरुद्ध गर्ने भएकाले अब स्थायी समाधान खोजिनुपर्ने” भन्दै ओभरपास वा अण्डरपास कुन उपयुक्त हुन्छ भन्नेबारे तत्काल प्राविधिक अध्ययन सुरु गर्न विशेष आग्रह गरेका थिए।

उनका अनुसार, मन्त्री दाहालले समस्या समाधानलाई मन्त्रालयले उच्च प्राथमिकतामा लिने प्रतिबद्धता व्यक्त गर्दै अध्ययन प्रक्रियालाई अघि बढाउन सचिवलाई निर्देशन दिएका छन्।
“यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रुहरूको साझा समस्या हो,” सांसद बतौलाले भने, “थोरै वर्षा हुँदा समेत घण्टौँ सडक बन्द हुने अवस्था अब अन्त्य हुनुपर्छ।”

हालै केही दिनअघि आएको बाढीका कारण सयौँ सवारीसाधन अवरुद्ध भई हजारौँ यात्रुहरू सडकमै रात बिताउन बाध्य भएका थिए। स्थानीयबासी र यात्रुहरूले पटक–पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि स्थायी समाधानका लागि ठोस पहल नभएको भन्दै गुनासो गर्दै आएका छन्।

ज्ञापनपत्रमार्फत सांसद बतौलाले मन्त्री दाहाललाई मातहतका निकायलाई तत्काल निर्देशन दिई प्राविधिक अध्ययन र आवश्यक संरचना निर्माण प्रक्रियामा अघि बढ्न आग्रह गरेका छन्।