हेटौंडा / तीज पर्वलाई केवल खाने–पिउने र रमाइलोमा सीमित नगरी सामाजिक उत्तरदायित्वसहित मनाउने उद्देश्यले प्रेस चौतारी मकवानपुरले विशेष पहल गरेको छ।
दर खाने दिनको बिहानै चौतारी मकवानपुरका सदस्यहरू मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थल पुगेका थिए। भेटघाट कार्यक्रमका क्रममा आश्रममा बसोबास गर्ने आमाबुबालाई फलफूल र आमाहरुलाई धोती प्रदान गरिएको थियो।
सो अवसरमा ज्येष्ठ नागरिकहरूले आफ्ना जीवनका अनुभव, गुनासा र प्रेरणादायी विचार व्यक्त गरेका थिए। उहाँहरूले सञ्चारकर्मीहरूलाई दिनुभएको आशिर्वादले थप हौसला, जोश र जिम्मेवारीको बोध गराएको सहभागीहरूले बताएका छन्।
भेटघाटलाई सफल बनाउन आश्रमका संरक्षक केदार प्रसाद न्यौपाने, आश्रम सम्हाल्दै आउनु भएकी सुनिता न्यौपाने, अध्यक्ष टीआर निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज पुष्पराज आचार्य, चौतारी बागमती प्रदेश महासचिव प्रकाश दाहाल, प्रदेश कमिटी सदस्य तथा जिल्ला पदाधिकारीहरूको सक्रिय भूमिका रहेको थियो।
कार्यक्रममा चौतारी मकवानपुरका पदाधिकारीहरूले यस किसिमका भेटघाटलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

















