मकवानपुरको सिमलटारमा मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु

Image

हेटौंडा / मकवानपुरगढी गाउँपालिका–५ सिमलटारस्थित बासुदेव मार्गमा मोटरसाइकलको ठक्करबाट ७३ वर्षीया वृद्ध महिलाको मृत्यु भएको छ।

भदौ ८ गते बिहान करिब ८ः३० बजे ज्यामिरे खोलाबाट हेटौंडातर्फ आउँदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी स्थानीय सुकुमाया गोलेलाई ठक्कर दिएको थियो। टाउको र हातमा चोट लागेर घाइते भएकी उनलाई तत्कालै उनका छोरा सुकुलाल गोलेले उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए।

घटनापछि मोटरसाइकल चालक मकवानपुरगढी–६ सामरीका २० वर्षीय समिर घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते गोलेलाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर र पुनः मकवानपुर सहकारी अस्पतालमा स्थानान्तरण गरिएको थियो। तर उपचारकै क्रममा भदौ १० गते साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ।