मकवानपुरको उत्तरी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सांसदको प्रधानमन्त्री समक्ष अनुरोध

Image

हेटौंडा / मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य महेश कुमार बतौलाले मकवानपुर जिल्लाको उत्तरी क्षेत्र, विशेष गरी थाहा नगरपालिका, भिमफेदी, कैलास र इन्द्रसरोबर गाउँपालिकाका वासिन्दाहरूले प्रशासनिक सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीसमक्ष इलाका प्रशासन कार्यालय स्थापना गर्न विनम्र अनुरोध गर्नुभएको छ।

सांसद बतौलाले यसअघि नागरिकहरूले जिल्लाको सदरमुकाम हेटौडा पुग्नुपर्ने बाध्यता रहेको, त्यसका लागि समय र खर्च दुबै बढी हुने कुरा औँल्याउनुभयो। उहाँका अनुसार, नेपाल सरकारले हालै देशभर २३ स्थानमा प्रशासनिक सेवाहरू सहज रूपमा उपलब्ध गराउन इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने प्रक्रिया अगाडि बढाएकोमा आभार व्यक्त गर्दै मकवानपुरको उत्तरी क्षेत्रमा पनि सो सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।

सांसद बतौलाले यस कदमले स्थानीय जनताले लामो समयदेखि भोग्दै आएका प्रशासनिक असुविधा अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ।