हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकामा १६ जना क्षयरोगका विरामीले नियमित औषधि सेवन गरिरहेका छन्। विहीबार सम्पन्न क्षयरोगसम्बन्धी वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक तथ्याङ्कअनुसार आव २०८१/०८२ मा विभिन्न वडामा ती विरामी भेटिएका हुन्।
स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार वडा नम्बर ३ मा ९ जना, वडा नम्बर ८ मा २ जना, वडा नम्बर ९ मा ४ जना र वडा नम्बर ५ मा १ जना गरी कुल १६ जना क्षयरोगका विरामी उपचारमा रहेका छन्। उनीहरुले स्वास्थ्य संस्थाबाट नियमित औषधि सेवन गरिरहेका छन्। अझै बढी परीक्षणको आवश्यकता रहेको गौतमले बताए।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकामा रहेका ल्याब प्रयोगलाई प्रभावकारी बनाउन आग्रह गर्दै क्षयरोग परीक्षणलाई तीव्रता दिनुपर्ने बताए। संक्रमितको औषधि सेवनमा स्वास्थ्यकर्मीले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उनले छिट्टै क्षयरोग परीक्षण शिविर सञ्चालनको तयारी भइरहेको जानकारी दिए। स्वास्थ्य र शिक्षा क्षेत्रको सूचक राज्यको मेरुदण्ड भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेलले डाटाबेसमा वडास्तरीय स्वास्थ्य चौकीको कमजोरी देखिएको उल्लेख गर्दै सुधारका लागि आग्रह गरे। सेवामा कमी नआउने र परीक्षणको दायरा बढाउनुपर्नेमा उनले जोड दिए।
स्वास्थ्य शाखा प्रमुख गौतमले लाजका कारण धेरै नागरिक परीक्षणमा नआउने, र अन्यत्र परीक्षण गरे पनि रिपोर्ट स्वास्थ्य संस्थामा नपुग्दा ‘लुकेको टिबी’ पत्ता लगाउन कठिनाइ भइरहेको बताए।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि कान्ज्य कुमार चौधरी, सुजन थापा, पालिकाभित्रका स्वास्थ्य चौकीका ईन्चार्जलगायतको सहभागिता थियो।

















