हेटौंडा/ बालमैत्री नगरपालिका निर्माण अभियान अन्तर्गत थाहा नगरपालिकाले नगरको वडा नं. १ र २ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ। विशेष समारोहसहित आयोजित घोषणा सभामा नगरका जनप्रतिनिधि, शिक्षक, बालबालिका, महिला समूह तथा सरोकारवाला निकायको सक्रिय सहभागिता रहेको थियो।
घोषणा कार्यक्रममा वक्ताहरुले बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्य, शिक्षा, संरक्षण र सहभागितामा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थाहा नगरपालिकाले यस अघि पनि विद्यालय सुधार, स्वास्थ्य सचेतना, बालमैत्री खेलमैदान र बाल अधिकारसम्बन्धी जनचेतना अभिवृद्धिमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले बालबालिकाको हितमा नीतिगत, संरचनागत र व्यवहारगत सुधारको मार्ग प्रशस्त गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

















