हेटौंडा/ नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा ३६ औं जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी शुक्रबारदेखि सुरु भएको छ।
अरनिको माध्यमिक विद्यालय, हेटौंडा–१९ को आतिथ्यमा सुरु भएको गोष्ठीलाई रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाले उद्घाटन गर्नुभयो। कार्यक्रममा मकवानपुरका ६५ सामुदायिक तथा संस्थागत विद्यालयका जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि र शिक्षक नायकहरू गरी करिब ३ सय जनाको सहभागिता रहेको छ।
उद्घाटन कार्यक्रममा जिल्ला जुनियर युवा समितिका संयोजक एवं उपमन्त्री शिवहरि दाहालको अध्यक्षता तथा सभापति थापाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती मकवानपुर शाखाकी मन्त्री सुमित्रा काफ्ले, हेटौंडा उपमहानगरपालिका–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, मनहरी गाउँपालिका–३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल, वडा नं. ४ का अध्यक्ष प्रकाश थापा, अरनिको माबीका बिब्यस अध्यक्ष गान्धी घलान, प्रधानाध्यापक बिष्णु परियार, संयोजक राजु घले र शिक्षक नायक बिणाकुमारी लामालगायतले मन्तव्य राखेका थिए।
गोष्ठीमा जुनियर युवा सर्कलले सञ्चालन गरेका वार्षिक गतिविधिको समीक्षा गर्दै २०८०/८१ सालको कार्ययोजना निर्माण, हाजिरीजबाफ प्रतियोगिता, रेडक्रसका सात आधारभूत सिद्धान्तमाथि नाटक, नेतृत्व विकास, डेङ्गु सचेतना र विपद व्यवस्थापनसम्बन्धी कार्यशालाको आयोजना हुने जानकारी संयोजक शिवहरि दाहालले दिनुभयो।

















