हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकामा अब ५२ प्रकारका सङ्क्रमण रोगको शुक्ष्म निगरानी प्रणाली लागू हुँदैछ। यस कार्यक्रमले केवल रोग पहिचान र नियन्त्रण मात्र नभई, समुदायमा स्वास्थ्य सचेतना फैलाउने र स्थानीय स्तरमा स्वास्थ्य क्षमता बलियो बनाउने लक्ष्य राखेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत सञ्चालन हुने कार्यक्रमको जानकारी केन्द्रका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई हस्तान्तरण गरे। उनले आवश्यक तथ्यांक उपलब्ध गराउने र सहयोगको लागि पनि अनुरोध गरे।
कार्यक्रमको पहिलो चरणमा मकवानपुरका हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका लगायत देशभरका ४४ स्थानीय तहमा निगरानी प्रणाली कार्यान्वयन हुने छ। बागमती प्रदेशका ८ स्थानीय तह यस कार्यक्रममा समेटिएका छन्।
विशेषत, प्रत्येक वडामा २५ जनाको इपिडेमिक इन्टेलिजेन्स भोलेन्टियर टिम गठन हुनेछ। यसमा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, निजी फार्मेसी सञ्चालक र जनप्रतिनिधि समावेश हुनेछन्। उनीहरुलाई आवश्यक तालिम प्रदान गरी रोग पहिचान र नियन्त्रणका साथै स्वास्थ्य सचेतना फैलाउने जिम्मेवारी दिइनेछ।
यो कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवा र समुदायको स्वशक्ति दुवै सुदृढ गर्ने अपेक्षा राखिएको छ। यसबाट गाउँपालिका भित्र रोगको छिटो पहिचान, सचेतना फैलाउने काम र समग्र स्वास्थ्य व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता सुनिश्चित हुने बताइएको छ।

















