हेटौंडामा सम्पन्न ३६औं जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी, ११ बुँदे ‘अरनिको घोषणा पत्र’ जारी

Image

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा भएको ३६औं जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी ११ बुँदे ‘अरनिको घोषणा पत्र’ जारी गर्दै शनिबार सम्पन्न भएको छ ।

जुनियर रेडक्रस सर्कल अरनिको मावि, हेटौंडा–१९ को आतिथ्यमा सम्पन्न गोष्ठीमा मकवानपुर जिल्लाका ६५ वटा सामुदायिक तथा संस्थागत विद्यालय र समुदाय स्तरमा गठित जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधि र शिक्षक नायक गरी करिब ३०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाले शुक्रबार गरेका थिए भने गोष्ठीको अध्यक्षता जिल्ला जुनियर युवा समितिका संयोजक शिवहरि दाहालले गरेका थिए । कार्यक्रममा वार्षिक समीक्षा, २०८२/८३ को कार्ययोजना निर्माण, हाजिरीजबाफ प्रतियोगिता, रेडक्रसका ७ आधारभूत सिद्धान्तमाथि नाटक प्रदर्शन, नेतृत्व विकास, विपद् व्यवस्थापनसम्बन्धी कार्यशालासहितका कार्यक्रम सञ्चालन गरिएका थिए ।

गोष्ठीले ३७औं जिल्ला जुनियर/युवा रेडक्रस गोष्ठी २०८३ सालमा पालुङ्गस्थित जनकल्याण माविको आतिथ्यमा आयोजना गर्ने निर्णय गरेको छ । सो अवसरमा जनकल्याण माविका शिक्षक नायक मनोज लामिछानेलाई रेडक्रसको झण्डा हस्तान्तरण गरिएको थियो । यस्तै, २०८३ सालमा शिक्षक नायक गोष्ठी जनता मावि सुकौरा र जिल्ला स्तरिय प्रधानाध्यापक गोष्ठी आधुनिक राष्ट्रिय मावि, हेटौंडामा गर्नेगरी निर्णय भएको छ ।

समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१९ का वडा अध्यक्ष नरनाथ सुबेदी, अरनिको मावि बीबीएस अध्यक्ष गान्धी घलान, नेपाल रेडक्रस मकवानपुरका उपसभापति यशोदा श्रेष्ठ, मन्त्री सुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य रामजी सापकोटा, पिताम्बर बास्तोला, पूर्व उपसभापति उमेश बाँस्कोटा, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा, प्रधानाध्यापक बिष्णु परियार, संयोजक राजु घले, शिक्षक नायक बिणाकुमारी लामा, पिटिए अध्यक्ष रामप्रसाद पौडेल, जिल्ला जुनियर युवा समिति सदस्य हिक्मत श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।