हेटौंडा । बागमती प्रदेशसभाका सांसदहरु समक्ष आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले समस्यानै समस्याका चाँङ राखेका छन् । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा संसदीय निगरानीका लागि बागमती प्रदेशका विभिन्न सवालहरुको पहिचान सम्वन्धी कार्यशालाका अवसरमा नागरिकहरुले आफ्ना क्षेत्रका बिबिध समस्याहरु राखेका हुन् ।
प्रदेशका सांसद मार्फत सरकार समक्ष आफ्ना क्षेत्रका समस्याहरु राखुन भन्ने उदेस्यले यहाँका अधिकारकर्मी, नागरिकसमाज, गैरसरकारी संस्था, सामुदायिक वन, टोल विकास संस्था, सञ्चारकर्मीहरुले आफ्ना क्षेत्रमा परेका बिबिध समस्याहरु सांसदहरु समक्ष राखेका छन् ।
कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशसभाका उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले नागरिकका पहुँचका आधारमा होइनकी आवस्यक्ताका आधारमा सरकारले उनीहरुका निम्ती काम गर्नुपर्ने बताउनुभयो ।
सदनमा रहुन्जेल सम्म आफुहरुले जनताका विषयलाई उठान गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो–‘जनताबाटनै निर्वाचित भएर आएकाले उनीहरुकै लागि हामीले काम गर्ने हो । सरकारका प्रतिनिधीहरु समितिमा राखेर समेत छलफल गर्ने निर्देशन दिने गरिएको तर, त्यस अनुसार काम हुन सकेको छैन ।’
एचआइभी संक्रमित, प्रभावितहरुका धेरै खालका समस्याहरु छन् । उनीहरुका समस्याहरुलाई आफुहरुले न्यूनीकरण गर्न लागिपरेको बताउनुभयो । अहिलेको अर्को समस्या भनेको कुकुरले टोक्दा लगाउने रेविजको सुइ समेत सरकारी अस्पतालमा नपाउँदा थप समस्या भएको बताउनुयभयो । जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो–‘जनताका यावत समस्याहरु छन् । हामीले सदनमा उठाएका पनि छौ । तर, कार्यान्वयन सरकारले कार्यान्यन गर्दैन । सुन्य समय, बिशेष समयमा बोल्ने क्रममा नागकरिकका समस्याहरु उठाउने गरिएको छ ।’
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले आजको कार्यक्रम कुनै एउटा विषयमा मात्र केन्द्रित नभएर समग्रमा सबै क्षेत्रका मुद्दा र समस्याहरू वास्तविक धरातलमा के–कस्ता छन् भन्ने सन्दर्भलाई प्रतिनिधिमूलक ढङ्गबाट प्रस्तुत गरिएको बताउनुभयो । यहाँहरूले जुन विषय उठाउनुहुन्छ, त्यसले हामीलाई सदनमा कुरा राख्नका लागि ताजा र सान्दर्भिक मुद्दाहरू प्रदान गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हामीले यसअघि पनि विपद् व्यवस्थापनसम्बन्धी मुद्दाहरूबारे स्थलगत रूपमै छलफल चलाएका थियौँ र ती विषयलाई सदनमा उठान पनि गरेका थियौँ। कार्यक्रमबाट हामीले महत्त्वपूर्ण पृष्ठपोषण प्राप्त गरेका छौँ। मलाई लाग्छ, प्रदेश सरकारले काम गर्दै जाँदा सबै कुरा पूर्ण भइसकेको छ भन्ने होइन। हामीले अझै धेरै कुरा सुन्नुपर्ने, धेरै विषयमा आफैँले आयोजना गरेर अन्तरक्रिया गर्नुपर्ने र मुद्दाहरू उठाउनुपर्ने आवश्यकता छ।’
उहाँले भन्नुभयो–‘जति गर्नुपर्ने हो, त्यति हुन सकेको छैन होला, तर जनताका र जनसरोकारका विषयहरू उठाउने कुरामा हामीले कन्जुस्याइँ गर्नुभन्दा पनि अझै कस्ता विषयहरू उठाउन सकिन्छ भनेर जनतासँगै सोधेर अघि बढ्ने गरेका छौँ।’
कतिपय जानकारी र मुद्दाहरू पत्रकार र सञ्चारमाध्यममा छिटो पुग्ने भएकाले हामी नजिकका मिडियाकर्मी साथीहरूसँग पनि छलफल गर्ने गरेको बताउनुभयो । सबै ठाउँमा पुग्न नसकिएका र मिडियामा आएर ठोक्किएका विषयहरूलाई हामीले सोधखोज गरेर सदनमा उठाउने गरेको सांसद पाठकले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रो समिति, अर्थात् उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा हामी छौँ। यहाँ उठेका विषयहरू हामी सांसदहरूका लागि साझा सरोकारका विषय हुन्। कुनै एउटा समिति छान्नुपर्ने भएकाले हामीले यो समिति छानेका हौँ, तर जनसरोकारका सबै मुद्दाहरू हामी सबैले उठाउनुपर्छ । सबै कानुन बन्ने प्रक्रियामा हामी ती विषयमा जानकार हुनुपर्छ भन्ने मलाई लाग्छ। यहीअनुरूप हामीले यी मुद्दाहरू उठाइरहेका छौँ।’
अपाङ्गताको विषयमा कुरा उठाउनुभयो, जुन एकदमै जायज छ। हामीले निरन्तर रूपमा यस्ता विषयहरू सदनमा उठाएका छौँ। अब नीति र कानुन बनाउने सन्दर्भमा पनि यसबारे छलफल गरिरहेका छौँ। छिटोभन्दा छिटो प्राथमिकतामा पर्नुपर्ने विषयमा कानुन बन्नु मात्र ठूलो कुरा होइन; त्यो कानुन जनमुखी भयो कि भएन? जनसरोकारका विषयहरू त्यसमा सम्बोधन भए कि भएनन्? यो विषय झनै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
आम नागरिकलाई निराश नहुन आग्रह गर्न गर्दै सांसद पाठकले भन्नुभयो–‘हामी त्यही पृष्ठभूमिबाट आएकाले जनता, समुदाय, महिला, दलित, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिहरू सबैको अधिकार र कर्तव्यको विषयमा मुद्दा उठाउन पछि पर्दैनौँ। हामीबाट त्यस्तो त्रुटि हुनेछैन भन्ने मलाई लाग्छ। यहाँ उठाइएका विषयहरू हामी तीन जनालाई मात्र भनिएको होइन; बागमती प्रदेश सभामा रहनुभएका ११० जना सदस्य सबैले उठाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने विषयहरू हुन्।’
हामी यी विषयलाई सशक्त ढङ्गले उठाउनेछौँ। विपद्को सन्दर्भमा, हालैको बागजोराको घटनाले ठूलो छलफल र बहस सिर्जना गरेको छ। बागमती प्रदेशलाई लक्षित गरेर बनाइएका सडकहरू धेरै छन्, तर भौगोलिक हिसाबले सुरक्षित यात्राको अवस्था नहुँदा वैकल्पिक मार्ग र दिगो समाधान कसरी खोज्ने भन्नेबारे हाम्रो संसदमा छलफल हुने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले प्रदेश स्थापना भएको लगभग आठ वर्ष हुन लाग्यो, तर यहाँको अवस्था हेर्दा पार्टीभित्र गुटबन्दी, दलभित्र उपगुटबन्दी र एकले अर्काको खेदो खन्ने प्रवृत्तिले गर्दा नागरिकका विषयमा चासो कम गएको बताउनुभयो ।
अहिले आम जनता आज निराशाको छायामा रहेको बताउँदै उहाँले भन्नुभयो–‘सरकार लामो समय नटिक्ने र एकपछि अर्को सरकार बनाउने खेलले जनतामा प्रदेश सरकारप्रतिको विश्वास मर्दै गएको छ ।
आफ्ना मान्छेलाई जागिर खुवाउने, नियुक्ति दिने र अनुदान बाँड्ने प्रवृत्ति मौलाएको छ । यस्तो गलत प्रवृत्तिका विरुद्ध मैले प्रदेश सभामै आवाज उठाएको थिएँ। हजारौँ नेपालीको बलिदानबाट आएको गणतन्त्रको जग आज हल्लिरहेको छ।

















