हेटौंडा / प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आइतबार र सोमबार दुई अलग घटना मार्फत ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–७ मिलनचोकमा आइतबार बिहान करिब ११:३० बजे शंकास्पद रुपमा हिँडिरहेका हेटौंडा–५ बस्ने ३२ वर्षीय समिर महतलाई प्रहरीले खानतलासी गर्दा लागुऔषध ट्रामाडोल १० क्याप्सुल र खैरोहेरोईन जस्तो देखिने ४ ग्राम ९६० मिलिग्राम गिलो पदार्थ फेला परेको हो । पक्राउ परेका महतलाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार बिहान करिब १:५० बजे हेटौंडा–३ च्यानडाँडा जंगलको भित्री बाटोमा प्रहरी टोलीले बेवारिसे अवस्थामा ठूलो परिमाणको गाँजा फेला पारेको छ । प्रहरीले दिएको जानकारीअनुसार गाँजा बोकेर आउँदै गरेका ७–८ जना मानिसले प्रहरी देख्नेबित्तिकै भारी फाली जंगलतर्फ भाग्दा उक्त गाँजा तौल गर्दा २१२ किलो ८६० ग्राम रहेको पाइएको हो ।
फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

















