हेटौंडा / मकवानपुरको विकट क्षेत्र मानिने कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङको जीवन अब सुरक्षित घरसँगै बदलिँदै जाने भएको छ । लामो समयदेखि जीर्ण काठपात र खरको छानो भएको असुरक्षित घरमा श्रीमतीसँगै बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रत्यक्ष पहलमार्फत दुई लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।
लालकुमारका कुनै सन्तान छैनन् । करिब २ कट्ठा नम्बरी र केही ऐलानी जग्गामा परम्परागत खेती गर्दै आएका उनी श्रीमती सानुमाया चेपाङसँगै विपन्न अवस्थामै जीवन धानिरहेका छन् । श्रीमतीको हात बाल्यकालमै जलेर अल्प अपाङ्ग भएकीले दम्पती दुवैको जीवन सहज थिएन ।
गाउँपालिकाले सीमान्तकृत र अति विपन्नलाई प्राथमिकतामा राखी मुख्यमन्त्री समक्ष सिफारिस गरेपछि सहयोग उपलब्ध भएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार आवास अभावका कारण अत्यन्तै जोखिमपूर्ण जीवन बिताइरहेका लालकुमारलाई यसपटक सुरक्षित आवास निर्माणका लागि छनोट गरिएको हो ।
सहयोग हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले “गास, वास र कपास नागरिकको आधारभूत आवश्यकता हो, मेरो निर्वाचन क्षेत्रका नागरिक यसबाट वञ्चित हुन पाउनुहुन्न” भन्दै लालकुमारलाई पहिलो किस्ताको सहयोग उपलब्ध गराएको बताए ।
पत्र बुझ्ने कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाध्यक्ष, दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । यसले प्रदेश सरकारको नागरिकप्रतिको प्रत्यक्ष उत्तरदायित्व झल्काएको सहभागीहरूको भनाइ छ ।

















