हेटौंडा / निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने अडान फिर्ता लिएका छन् । यसअघि उनीहरूले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा असहमति जनाउँदै भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।
प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेका थिए । तर, विद्यालय बन्द नगर्ने निर्णय भएको प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले जानकारी दिएका छन् । उनले भने, “भोलिदेखि विद्यालय बन्द गर्ने भनेका थियौँ, तर नगर्ने भयौँ, विद्यालयहरू खुल्नेछन् ।”
उनका अनुसार शिक्षा विधेयक संसदमा तत्काल पारित हुने स्थिति नभएकाले विद्यालय बन्द गरेर कुनै ठोस उपलब्धि नहुने देखिएको छ । हाल सरकारसँग केही छलफल भइरहेको भए पनि सहमति नजुटेको उनले बताए । आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे भोलि पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी भएको छ ।
निजी विद्यालय सञ्चालकहरूले विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, पोशाक, पाठ्यपुस्तक, यातायात, खानपान लगायतका सुविधा अनिवार्य उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने र शैक्षिक गुठीमा रूपान्तरण गर्ने प्रावधान पनि हटाउनुपर्ने उनीहरूको अडान छ ।
प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदनसहित पेस भएको विद्यालय शिक्षा विधेयक यही भदौ २५ गते छलफल र पारित हुने कार्यतालिकामा रहेको छ । यसअघि भने निजी विद्यालय सञ्चालकहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेका छन् ।












