श्रम, रोजगार तथा यातायात मन्त्रालयमा नवनियुक्त सचिव ढकाललाई स्वागत

Image

हेटौंडा/ बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयमा मंगलबार नवनियुक्त सचिव बलराम ढकाललाई स्वागत गरिएको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जयराम थापा, विभागीय प्रमुखहरू र कर्मचारीले सचिव ढकाललाई औपचारिक स्वागत गरेका हुन्।

स्वागतपछि मन्त्री थापाले मन्त्रालय संवेदनशील क्षेत्र भएकाले कार्यसम्पादनमा कानुनसम्मत र जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले अनुभवको सदुपयोग गर्दै श्रमिकमैत्री नीति, यातायात सेवा सुधार तथा नागरिक सेवामा सहजता ल्याउन सचिवलाई निर्देशन दिनुभयो। साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई पहिलो प्राथमिकतामा राखी, ई–बिलबुक प्रणाली, अनलाइन कर भुक्तानी र विनियोजित बजेटअनुसारका कामलाई प्रभावकारी बनाउनुपर्नेमा पनि मन्त्री थापाले जोड दिनुभयो।

सचिव ढकालले आफू जिम्मेवारीलाई मेरुदण्डका रूपमा ग्रहण गर्दै, “कुरा भन्दा काममा जोड दिने, सेवाग्राहीको प्रतिक्रिया अनुसार कार्यालय सञ्चालन गर्ने, जनगुनासो समाधान गर्ने र सेवा प्रवाहमा सुधार ल्याउने” प्रतिबद्धता जनाउनुभयो। उहाँले लेखा तथा प्रशासन विभागमार्फत खाता सञ्चालन गर्दै पदीय जिम्मेवारी पूरा गर्ने आश्वासन दिनुभयो।

कार्यक्रममा मन्त्री थापाले मन्त्रालयमा कानुन शाखाको अभाव रहेको उल्लेख गर्दै, आगामी दिनमा संस्थागत संरचना मजबुत बनाउन र परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो।