वन तथा वातावरण मन्त्रालयले भावि कार्यदिशा सहितको प्रतिवद्धता पत्र सार्वजनिक

Image

हेटौंडा/ बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले २०८२ सालमा भावि कार्यदिशा सहितको ३७ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

करिब ५३.७ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको बागमती प्रदेशमा दिगो वन व्यवस्थापन, वातावरणमैत्री विकास, जैविक विविधताको संरक्षण र जलाधार क्षेत्रको व्यवस्थापनलाई प्राथमिकता दिँदै मन्त्रालयले प्रतिवद्धता पत्र सार्वजनिकीकरण गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री भरत बहादुर के.सी.ले वन अतिक्रमण नियन्त्रण, डढेलो नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण, वातावरणीय प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनको असर न्यूनीकरण र वनजन्य उद्योग प्रवर्द्धनलाई मुख्य एजेन्डा बनाइने बताउनुभयो ।

प्रतिवद्धता पत्रमा सामुदायिक वनहरूको कार्ययोजना नवीकरण, दिगो वन व्यवस्थापनमार्फत रोजगारी सिर्जना, काठ र गैर–काष्ठ वन पैदावारको उपयोग, जडीबुटीको व्यावसायिक खेती, हरित उद्यम प्रवर्द्धन, एकीकृत जलाधार व्यवस्थापन, प्रदूषण नियन्त्रण, सुशासन कायम र कानूनी सुधारलाई प्राथमिकता दिइएको छ ।

मन्त्री के.सी.ले प्रतिबद्धता पूरा गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, पत्रकार र आम नागरिक सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै जनमुखी र पारदर्शी सेवा प्रवाहमार्फत समृद्ध प्रदेश निर्माणमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।