हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे जितदमार निवासी २४ वर्षीय विजय थिङको करेन्ट लागी मृत्यु भएको छ।
मिति २०८२ भदौ १९ गते दिउँसो करिब १:४० बजे बिरामी अवस्थामा हेटौंडा अस्पताल ल्याइएको थिङलाई उपचारको क्रममा १:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको दाहिने हातको हत्केलामा चोट देखिएपछि थप अनुसन्धान गर्दा करेन्ट लागेर मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।
प्रारम्भिक अनुसन्धानअनुसार विजय थिङ आफ्ना पिता लालबहादुर थिङसँगै घरदेखि करिब २ किलोमिटर उत्तरतर्फ रहेको ट्याँउट्याँउ खोलामा माछा मार्न गएका थिए। उक्त क्रममा खोलामाथि टाँगिएको विद्युत् तारमा हुक लगाएर माछा मार्ने प्रयास गर्दा करेन्ट लागी ज्यान गएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपीले जनाउनुभएको छ।

















