बसपार्क नजिक अचेत अवस्थामा फेला परेकी ३२ वर्षीया महिलाको मृत्यु

Image

हेटौँडा/ चितवनको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिक अचेत अवस्थामा फेला परेकी करिब ३२ वर्षीया महिलाको मृत्यु भएको छ। बुधबार बिहान ५:३० बजे सडक पेटीमा भेटिएकी महिलालाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो। तर ६:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घटनाको प्रकृति स्पष्ट नभएकाले अनुसन्धान सुरु गरिएको छ। महिलाको परिचय खुल्न बाँकी रहेको र मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्ट कुरिएको प्रहरीले जनाएको छ।

स्थानीयले बिहानै अचेत अवस्थामा महिला देखेपछि प्रहरीलाई खबर गरेका थिए। बसपार्क क्षेत्रमा दैनिक हजारौँ यात्रुहरूको आवागमन हुने भएकाले घटनाले स्थानीयमा चासो बढाएको छ।