हेटौंडा जनप्रिय क्याम्पसको प्रथम सभा सम्पन्न, नेपालकै उत्कृष्ट कृषि शिक्षण संस्था बन्ने लक्ष्यसहित क्याम्पसको नीति तथा कार्यक्रम सार्वजनिक

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा स्थापित हेटौंडा जनप्रिय क्याम्पसले आफ्नो प्रथम क्याम्पस सभा सम्पन्न गरेको छ । क्याम्पसले यस अवसरमा नीति, योजना तथा आगामी कार्यक्रमहरू सार्वजनिक गर्दै कृषि शिक्षालाई राष्ट्रिय रुपान्तरणको केन्द्र बनाउने महत्वाकांक्षी लक्ष्य अघि सारेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पसले B.Sc. Agriculture (Hons.) कार्यक्रम सत्र २०८२/८३ देखि सञ्चालन गर्ने घोषणा गरेको छ । कार्यक्रममा प्रस्तुत नीतिअनुसार पाँच वर्षभित्र स्नातकोत्तर (M.Sc. Agriculture) कार्यक्रम सञ्चालन गर्ने, अत्याधुनिक प्रयोगशाला र नमुना फार्म स्थापना गर्ने, हरेक वर्ष कम्तीमा ६ अनुसन्धान परियोजना सञ्चालन गर्ने र १० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्ने योजना सार्वजनिक गरिएको छ ।

क्याम्पसले “नेपालकै उत्कृष्ट र नवप्रवर्तनशील कृषि शिक्षण संस्था बन्ने” दृष्टिकोण अघि सारेको छ । ध्येयअनुसार व्यवहारिक सीपयुक्त कृषि जनशक्ति उत्पादन, अनुसन्धान र प्रविधि हस्तान्तरणमार्फत दिगो कृषि विकासमा योगदान पु¥याउने प्रतिबद्धता क्याम्पसले जनाएको छ ।
सभा मार्फत प्रस्तुत १० वर्षे दीर्घकालीन योजनामा Agriculture Research & Innovation Center, Agriculture Technology Park, अन्तर्राष्ट्रिय विद्यार्थी आदान–प्रदान कार्यक्रम र राष्ट्रियस्तरको Peer-reviewed Journal of Agriculture प्रकाशनसमेत गर्ने लक्ष्य राखिएको छ । साथै, ३०% भन्दा बढी स्नातक विद्यार्थीलाई कृषि उद्यमी बनाउन स्टार्टअप, इनक्युबेसन र प्रविधि पार्क सञ्चालन गर्ने योजना क्याम्पसले सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि, अतिथि, गाउँपालिका तथा वडा अध्यक्ष, सञ्चालक समिति, सभासद, शिक्षक, कर्मचारी र पत्रकारको उपस्थितिमा क्याम्पस प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।