घर जले पनि आत्मबल जल्दैन” : भीमफेदी अध्यक्ष लामाको दृढता

Image

हेटौंडा/  जेनजीहरूको नाममा हेटौंडा क्षेत्रमा गरिएको आगजनी र तोडफोडले सम्पूर्ण जिल्ला आहत भएको छ। यसैबीच, भीमफेदी गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले मकवानपुर जिल्ला उपाध्यक्ष हिदम लामाले आफ्नो घरसमेत जलेर क्षति भए पनि आत्मबल नघटाएको बताएका छन्।
लामाले आफ्ना ७२ वर्षीय पिताको भनाइ उद्धृत गर्दै भने, “घर जले पनि शरीर र मस्तिष्क बाँकी छ भने सत्कर्म कहिल्यै नछोड। यही शिक्षा मेरो आत्मबल बनेको छ।”

भ्रस्टाचार आरोपप्रति कठोर जवाफ
दुई कार्यकाल गाउँपालिका अध्यक्ष रहिसकेका लामाले आफूविरुद्ध उठेका भ्रस्टाचारका आरोपलाई अस्वीकार गर्दै चुनौतीपूर्ण शब्द प्रयोग गरे –
“यदि मैले पालिका अध्यक्ष हुँदा अनियमितता गरेको प्रमाणित भए, म जनताको बीचमै झुण्डिन तयार छु। जनता मेरो भगवान् हुन्, म जनतालाई कहिल्यै धोका दिएको छैन।”

अपराधीलाई उजागर गर्न आग्रह
हेटौंडामा देखिएका आगजनी र लुटपाटका दृश्यलाई अपराधीले नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको भन्दै उनले जनतालाई प्रहरीलाई सहयोग गर्न अपिल गरे।
“यो मेरो मात्र पीडा होइन, सम्पूर्ण समाजकै साझा पीडा हो,” उनले भने।

कार्यकर्तालाई धैर्यको सन्देश
घटनापछि निराश भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, “ग्रहण लाग्यो भन्दैमा सधैं अँध्यारो रहँदैन, बिहान फेरि सूर्य उदाउँछ। समाजले हाम्रो दृढ भूमिकाको खोजी गरिरहेको छ, त्यसैले आत्मबल कमजोर नबनाई अभियानमा लाग्नुस्।”

कठोर कारबाहीको चेतावनी
राज्य र जनताको सम्पत्ति जलाउने तथा लुटपाट गर्नेहरूलाई कानुनको दायरामा ल्याएर कठोर कदम चालिने उनको स्पष्ट भनाइ छ।