हेटौंडामा महिला मृत अवस्थामा फेला, प्रहरीले अनुसन्धान अगाडि बढायो

Image

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२, गुम्बाचोकमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
स्थानीय शंखलाल डङ्गोलकी ५३/५४ वर्षीया श्रीमती नानीमाया रुम्बा मिति २०८२ भदौ ३१ गते बिहान आफ्नै घरको दोस्रो तलामा मृत फेला परेकी हुन्।

परिवारजनका अनुसार नानीमाया भदौ ३० गते राति करिब १२ बजे आफ्नै कोठामा सुतेकी थिइन्। भदौ ३१ गते बिहान करिब ३ बजे श्रीमानले बोलाउँदा प्रतिक्रिया नदिएपछि श्रीमानले मनहरी गाउँपालिका–६, लोथरमा बस्ने छोरा बाबु थिङ (पहिलो श्रीमानको छोरा), छोरी र माइती पक्षलाई खबर गरेका थिए।
छोरा घटनास्थलमा बिहान करिब ११:४५ बजे आइपुगेपछि तत्काल प्रहरीलाई जानकारी गराइएको थियो।

जानकारी पाएलगत्तै प्रहरी निरीक्षक विश्वम्भरनाथको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ । टोलीले मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको छ।
डिएसपी अर्यालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।