हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकामा विद्यालयमै खेलाडी उत्पादन गर्ने आधार निर्माण गरिएको छ। गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामग्री हस्तान्तरणसहित खेलकुदमैत्री अभियान अघि बढाइएको हो।
चाइल्ड रिच नेपालले सहयोग गरेको कार्यक्रममा पाँच विद्यालयलाई जर्सी, फुटबल, ट्रेनिङ विप्स, कोन र ग्राउण्ड मार्कर हस्तान्तरण गरिएको छ। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालय जीवनमै खेलकुदसँग परिचित हुने अवसर पाउनुले भविष्यका खेलाडी तयार गर्ने मार्ग खुलेको बताए।
“विद्यालयमै फुटबल अभ्यास सुरु भएपछि स्थानीय स्तरबाटै प्रतिभा पहिचान र विकास गर्न सजिलो हुन्छ,” मुक्तानले भने, “अबको फोकस खेलाडी उत्पादनमा हुनेछ।”
संस्थाकी सहायक कार्यक्रम संयोजक पुजा रानामगरका अनुसार विद्यालयस्तरमै आवश्यक पूर्वाधार उपलब्ध गराइएपछि फुटबलप्रतिको आकर्षण बढ्ने मात्र होइन, व्यावसायिक खेलाडी बन्ने बाटो पनि सहज हुने विश्वास गरिएको छ।
यसअन्तर्गत वडा नम्बर ३ को भवानी माध्यामिक विद्यालय, वडा नम्बर ६ को व्यास, वडा नम्बर २ को कमलादेवी, वडा नम्बर १० को रत्नज्योति र वडा नम्बर ९ को कालिका माध्यामिक विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको हो।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक, शिक्षक र स्थानीयको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले विद्यालयलाई आधार बनाएर खेलकुदको विकास हुनु उत्साहजनक भएको बताएका छन्।












