हेटौंडा/ मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ माझगाउँ खेस्रेखोला टोलका अन्दाजी १८ वर्षीय सोम बहादुर घलान बागमती खोलाले बगाएको घटना सार्वजनिक भएको छ।
मंगलबार दिउँसो करिब ३:३० बजे सोम बहादुर घलान आफ्ना बुबा अन्दाजी ४८ वर्षीय गुञ्जमान घलान सँगै घरबाट करिब ५०० मिटर पूर्वतर्फको बागमती खोलामा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा पानीको भेलले छोरा सोम बहादुरलाई बगाएको र उनी हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्र.स.नि. कमल प्रसाद यादव को कमाण्डमा प्रहरी टोली खटिएको छ। स्थानीयवासी र प्रहरीको संयुक्त टोलीद्वारा हाल निरन्तर खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ।

















