हेटौंडा/ बागमती प्रदेश – हालैको जेनजी आन्दोलनका क्रममा भएको आगजनीले चौकीटोलस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भवन पूर्णरूपमा क्षतिग्रस्त बनाए पनि मन्त्रालयको प्रशासनिक काम रोकिएको छैन। आगलागीपछिको चुनौतीका बीच मन्त्रालयले हेटौंडास्थित कृषि विकास निर्देशनालयको भवनमार्फत अस्थायी रूपमा सेवा पुनः सुरु गरेको छ।
मन्त्रालयले भने क्षतिग्रस्त भवनको प्राविधिक निरीक्षणपछि मात्र स्थायी व्यवस्थाबारे निर्णय लिइने जनाएको छ। यसबीच कर्मचारीलाई हतोत्साहित नहुन मन्त्री मधुसूदन पौडेलले आग्रह गर्दै “आफ्नो जिम्मेवारी नछोडी सेवा दिनु नै नागरिकप्रति हाम्रो प्रतिवद्धता हो” भनेका छन्।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना समेत गरेका छन्। साथै, आगजनीबाट सरकारी तथा निजी संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मन्त्रालयलाई बलियो बनाउन दीर्घकालीन योजना अघि सारिने संकेत पनि दिएका छन्।

















