मकवानपुरमा नाबालिकामाथि पिताको बलात्कार : प्रहरीद्वारा आरोपी पक्राउ

Image

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका–७ मा १० वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कारको शिकार भएकी छिन्। मंगलबार दिउँसो विद्यालयबाट फर्केर खाजा खाँदै गर्दा ४२ वर्षीय बाबुले आफ्नै छोरीमाथि जबरजस्तीकरणी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पीडित बालिकाकी दिदीले बुधबार प्रहरीमा जाहेरी दिएपछि आरोपी बाबु तत्कालै पक्राउ परेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर कानूनी कारबाही अघि बढाएको जनाएको छ।

बालिकालाई हाल बालसंरक्षण गृहमा राखेर संरक्षण गरिएको छ। पीडितकी आमा वैदेशिक रोजगारीका लागि कुवेतमा रहेकी छन्। परिवारमा चार छोरी र एक छोरा रहेका मध्ये पीडित बालिका सबैभन्दा कान्छी रहेको जनाईएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनअनुसार कडाभन्दा कडा सजाय दिलाइने जनाएको छ।