हेटौँडा उपमहानगरमा आन्दोलनको असर: सेवा र संरचनामा करिब ३२ करोडको क्षति

Image

हेटौंडा/ हेटौँडा उपमहानगरपालिकामा गत भदौ २३ र २४ गते भएको जे–जी पुस्ताको आन्दोलनका क्रममा तोडफोड र आगजनीले प्रशासनिक कामकाजमा ठुलो असर पारेको छ। उपमहानगरपालिकाका प्रमुख सामाजिक विकास महाशाखा डा. भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा गठन गरिएको क्षति मूल्यांकन समितिले करिब ३२ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको पुष्टि गरेको छ।

समितिले दिएको जानकारीअनुसार मुख्य भवन र विभिन्न वडा कार्यालयहरूमा व्यापक क्षति पुगेको छ। हेटौँडा–२ स्थित मुख्य भवनसहित १, ३, ४, १०, ११, १५ र १९ नम्बर वडा कार्यालय प्रभावित भए। ११, १५ र १९ नम्बर वडामा आगजनी र तोडफोड भएसँगै अन्य वडाहरूमा सामान निकालेर जलाइएको थियो। प्राविधिक मूल्यांकन अनुसार केवल भवनमा मात्रै करिब १६ करोड ३८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सवारीसाधनमा पनि ठूलो क्षति पुगेको छ। १८ वटा चारपांग्रे सवारीसाधनमध्ये नौवटा पूर्ण रूपमा नष्ट भए भने १७ वटा मोटरसाइकल, तीनवटा स्कुटर र एक अटो जलेट पनि ध्वस्त भएका छन्। सवारीसाधनको मूल्यांकनमा करिब ६ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

महत्त्वपूर्ण अभिलेख र फाइलसमेत नष्ट भएको छ। जिन्सी शाखा र राजस्व शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि राजस्व संकलन ठप्प भएको छ। योजना शाखामा रहेका २५ कम्पनीका भुक्तानीसम्बन्धी फाइल जलेर नष्ट भएका छन्। उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार आन्दोलनका कारण स्थापनाकालदेखिका महत्त्वपूर्ण दस्तावेज नष्ट भएका छन्, जसले लामो समयसम्म प्रशासनिक कार्यमा असर पार्नेछ।

यद्यपि स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार शाखाबाट अत्यावश्यक सेवा भने जारी रहेको बताइएको छ। संयोजक तिमल्सिनाले भने, “आन्दोलनको प्रभावले केवल संरचना र सवारीसाधन मात्र नभई नागरिक सेवामा समेत ठुलो चुनौती सिर्जना गरेको छ।”

स्थानीय प्रशासनका अनुसार उपमहानगरपालिकामा भएको आगजनी र तोडफोडले आमसर्वसाधारण र विभिन्न व्यवसायीहरूलाई प्रत्यक्ष असर पुर्‍याएको छ।