हेटौंडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विजयादशमी–२०८२ सहितका चाडपर्वहरूले नेपाली समाजलाई एकता, सद्भाव र सांस्कृतिक विविधतामा बाँध्ने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले नेपाली समाजको सामाजिक, सांस्कृतिक र धार्मिक विविधता नै हाम्रो पहिचान भएको उल्लेख गर्नुभयो। उहाँले चाडपर्वहरूलाई आपसी भाईचारा, सामाजिक सहकार्य र सकारात्मक सोच बढाउने अवसरका रूपमा लिन सबैलाई आग्रह गर्नुभयो।
“पर्वहरूले सांस्कृतिक संरक्षण मात्र गर्दैनन्, राष्ट्रिय एकतालाई अझ सबल बनाउने काम पनि गर्छन्,” मुख्यमन्त्री बानियाँको भनाइ छ। उहाँले राजनीतिक स्थायित्व, सुशासन र न्यायपूर्ण समाज निर्माणमा सबै नागरिकको सक्रिय भूमिकाको आवश्यकता औंल्याउनुभयो।
बानियाँले विजयादशमीलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने विशेष अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिँदै सम्पूर्ण दिदीबहिनी र दाजुभाइहरूको सुख, शान्ति, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मंगलकामना गर्नुभएको छ।

















