हेटौंडा / लगातारको वर्षा र पहिरोका कारण हेटौँडा र काठमाडौँलाई जोड्ने चारवटा मुख्य राजमार्गमध्ये हाल फर्पिङ–फाखेल–कुलेखानी सडकखण्ड मात्र आंशिक रूपमा सञ्चालनमा रहेको छ। बाँकी सबै वैकल्पिक मार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुलेखानीमार्गमा पनि हाल एकतर्फी मात्र सवारी सञ्चालनगर्न सकिने अवस्था छ। बाटो साँघुरो र पहिरो जोखिम यथावत् भएकाले अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।
अन्य सडक पूर्णरूपमा बन्द
त्रिभुवन राजपथ अन्तर्गतको नौबिसे–पालुङ–हेटौँडा खण्डमा ठूला पहिरो खसेपछि आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण मेसिनरी उपकरण परिचालनमा कठिनाइ भएको र सडक खुल्न अझ केही दिन लाग्ने सम्भावना रहेको छ।
त्यस्तै, सातदोबाटो–ठिंगन हुँदै हेटौँडा जाने कान्तिलोकपथमा पनि ठूला ढुंगा, माटो र लेदो बगेर सडक पूरिएको छ। सिस्नेरी–पालुङ खण्डमा समेत ठूला पहिरोका कारण सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।
गलत हल्ला असत्य
सामाजिक सञ्जालमा फैलिएको “कुलेखानी ड्याम खोल्दा सडक भत्किएको” भन्ने दाबी सत्य होइन, जिल्ला प्रहरी कार्यालयले स्पष्ट पारेको छ। प्रहरीका अनुसार हालसम्म ड्याम नखोलिएको र सडक क्षति पूरी रूपमा प्राकृतिक कारणले मात्र भएको हो।
सतर्क रहन आग्रह
स्थानीय प्रशासनले मौसम सुधार नभएसम्म अनावश्यक यात्रा नगर्न र सडक क्षेत्र नजिक नजान आग्रह गरेको छ। निरन्तर वर्षा जारी रहेकाले थप पहिरोको जोखिम रहेको चेतावनी दिइएको छ।












