लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोले इलामका विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बनेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म १८ जनाको मृत्यु पुष्टि भएको छ भने अझै पनि केही व्यक्ति बेपत्ता रहेको आशंका गरिएको छ।
सबैभन्दा बढी क्षति सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा भएको छ, जहाँ एकै परिवारका सदस्यसहित ५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। त्यस्तै माङ्सेबुङ गाउँपालिका–१ पाटी गाउँमा ३, देउमाई नगरपालिका–५ ढोरेमा १, देउमाई–५ धुसुनेमा २, फाकफोकथुम गाउँपालिका रातमाटेमा १, र इलाम नगरपालिका घोसगाउँमा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार माङ्सेबुङ गाउँपालिका–१ मा एक गर्भवती महिला सहित दुई जना गम्भीर घाइते छन्। उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली पठाइएको छ तर लगातारको वर्षा र हवाई दृश्यता कमजोर भएकाले उद्धारमा कठिनाइ भइरहेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार मध्यरातमा आएको पहिरोले घरहरू क्षणभरमै बगाएको थियो। केही स्थानमा बाटो अवरुद्ध भएका कारण उद्धार टोली प्रभावित क्षेत्रमा पुग्नसमेत समस्या भोगिरहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै अस्थायी राहत शिविरहरू तयार पारिएको जनाएको छ।
मानवीय संकटसँगै इलाम अहिले शोक र भयको छायाँमा छ। राहत र उद्धार कार्य जारी रहे पनि लगातारको वर्षा र भू–क्षयका कारण अझै जोखिम कायम रहेको स्थानीय प्रशासनले जनाएको छ।

















