“ज्यानको युद्ध लड्दै ७५० ग्रामको जीवन : हेटौंडामा बालगृहको गेटमा फ्यालिएको नवजात शिशु”

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–५ स्थित ‘हाम्रो घर बालगृह’को गेटबाहिर आइतबार दिउँसो फेला परेको एक नवजात शिशुले अहिले जीवनको संघर्ष गरिरहेको छ। करिब १२ देखि १५ दिनको अनुमान गरिएको शिशुको तौल मात्र ७५० ग्राम छ—जसले उसको अवस्था कति नाजुक छ भन्ने प्रष्ट देखाउँछ।

महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेका अनुसार दिउँसो करिब १ बजेतिर बालगृहको गेटबाहिर बेवारिसे अवस्थामा शिशु भेटिएको हो। तत्कालै बालगृहका कर्मचारीले प्रहरी र सम्बन्धित निकायलाई जानकारी दिएर उपचारको व्यवस्था गरे।

शिशुलाई सुरुमा हेटौंडा अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले अवस्था अत्यन्त जटिल रहेको बताएपछि उनलाई थप उपचारका लागि भरतपुर अस्पताल रेफर गरिएको बालगृहकी सञ्चालक इन्दिरा डल्लाकोटीले जानकारी दिइन्।
“शिशु अत्यन्तै कमजोर अवस्थामा थियो, श्वासप्रश्वासमा समेत कठिनाइ देखिएको थियो,” डल्लाकोटीले भनिन्।

शिशु फेला पर्दा उसले लगाएका लुगा र साथमा रहेका सामग्रीको फोटो सार्वजनिक गरिएको छ। सम्भावित आमा वा आफन्तको पहिचानमा सहयोग गर्न सक्ने जो–कसैलाई हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।

बालगृहको वार्डेनले शिशु फेला परेपछि तुरुन्तै खबर गर्‍यो।
त्यसपछि‘सेफ हाउस’, ‘ओसिएमसी’ र ‘हाम्रो घर बालगृह’को संयुक्त प्रयासमा उनलाई अस्पताल पु-याइएको थियो।
यो घटना केवल एक शिशुको जीवन–मरणको संघर्ष मात्र होइन, समाजले अझै पनि मातृत्व, जिम्मेवारी र करुणाको अर्थ बुझ्न बाँकी रहेको संकेत हो।

समाजले यस्तो अवस्थाबाट सिकेर कुनै पनि नवजात पुनः बाटोमा फ्यालिनु नपरोस् भन्ने सुनिश्चितता गर्नु आजको मानवीय दायित्व बनेको छ।