“बकैया–५ मा सहयोगको लहर: आगलागीपीडितलाई २ लाख ९ हजार सहयोग”

Image

हेटौंडा/ आगलागीले सबथोक खरानी बनाए पनि श्रीपुरका लिलाराम जिम्बाको परिवारमा अझै आशा बाँकी छ। यही आशामा मलजल गर्न नेपाली कांग्रेस बकैया गाउँपालिका समितिले मंगलबार आर्थिक सहयोग हस्तान्तरण गर्दै पीडित परिवारको दुःखमा साथ दिएको छ।

गत भदौ २० गते राति घरमा अचानक लागेको आगलागीले श्रीपुर निवासी ४५ वर्षीय लिलाराम जिम्बाको जीवन लियो। असोज १ गते उनको निधनपछि परिवार शोक र संकटमा डुबेको थियो। यही बेला पार्टीका स्थानीय नेताहरूले घरमै पुगेर परिवारलाई सान्त्वना र सहयोग दुवै प्रदान गरेका हुन्।

कार्यक्रम नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा पार्टी जिल्ला उपसभापति तथा गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल, र वडा अध्यक्ष लक्ष्मी जिम्बा लगायतको सहभागिता थियो।

पार्टी प्रवक्ता विजय लामा थिङका अनुसार मृतकका बुबा देव जीत जिम्बालाई कुल रु. २ लाख ९ हजार सहयोग रकम हस्तान्तरण गरिएको हो। यसमध्ये रु. १ लाख बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस प्रदेश सभापति इन्द्रबहादुरले ब्यक्तिगत सहयोग गर्नु भयो भने रु. १ लाख ९ हजार कांग्रेस बकैया समितिले उपलब्ध गराएको हो।

स्थानीय नेताहरूले पीडित परिवारलाई धैर्य र हिम्मत राख्न आग्रह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिवद्धता जनाए।

आगलागीले घर र जीवन उजाडे पनि, सामुदायिक सहानुभूति र सहकार्यले लिलारामको परिवारमा पुनः आशाको झिल्को जगाएको छ।