जेन्जि हिंसामा बालेन्द्र शाह र सुदन गुरुङविरुद्ध अनेरास्ववियु मकवानपुरको जाहेरी प्रहरीको भनाइ — “समग्र वस्तुस्थिति अध्ययन गरेर मात्र दर्ता गर्ने”

Image

हेटौंडा/ जेन्जि आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनामा अनेरास्ववियु (नेकपा एमाले) मकवानपुरले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपाल संस्थाका सुदन गुरुङलगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेको छ।

अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले दर्ता गरेको जाहेरीमा भाद्र २३ र २४ गते विद्यार्थी तथा युवालाई उक्साएर सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, आगजनी र लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ।

जाहेरीमा मुलुकी फौजदारी संहिता, २०७४ का दफा १७७ (ज्यान मार्ने), १७८ (हत्या), २४४ (लुटपाट) र २८५(२) (आपराधिक उपद्रव) अन्तर्गत कानुनी कारबाही माग गरिएको छ।
जाहेरीसँगै घटनासँग सम्बन्धित भिडियो र फोटोहरू समावेश गरिएको पेन ड्राइभ पनि प्रमाणका रूपमा बुझाइएको अनेरास्ववियु मकवानपुरले जनाएको छ।

जिल्ला कमिटी सचिवालय सदस्य गौरी तिमल्सिनाले जाहेरी पत्र प्रहरी कार्यालयमा वाचन गरी हस्तान्तरण गरेकी थिइन्।
तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले जाहेरी दर्ता प्रक्रिया अघि बढाउने वा नगर्ने विषयमा अझै निर्णय गरेको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुवास चन्द्र बोहराले भने,

“जाहेरी दर्ता गर्नुअघि हामीले सरकारी वकिलसँग परामर्श गरेर मात्र निर्णय गर्नेछौं। समग्र वस्तुस्थिति अध्ययनपछि भोलिसम्म जानकारी दिनेछौं।”

जाहेरी हस्तान्तरण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज भुवन मैनाली, सचिवालय सदस्य र मकवानपुर गढी गाउँपालिका इन्चार्ज भरतमोहन देवकोटा, युवा संघ नेपाल मकवानपुरका सचिवसहितका पदाधिकारी र कार्यकर्ताको उपस्थिती रहेको थियो।

यो घटनाले जेन्जि आन्दोलनपछिको विवादलाई थप तीव्र बनाएको छ। आन्दोलनका क्रममा भएका हिंसा, तोडफोड र सम्पत्ति विनाशका घटनाले देशभर व्यापक राजनीतिक र सामाजिक बहस सुरु भएको छ।