हेटौंडा / स्वतन्त्र पत्रकार संघ, मकवानपुरले एभिन्युज टेलिभिजनले आफ्ना मकवानपुर जिल्ला संवाददाता पत्रकार प्रमोद राज साहनीलाई लामो समयदेखि पारिश्रमिक नदिई श्रम अधिकारको उल्लंघन गरेको आरोप लगाएको छ।
संघद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा पत्रकार साहनीले करिब एक वर्षदेखि पारिश्रमिक नपाएको र पारिश्रमिकको माग गर्दा संस्थाले “प्रक्रियामा छ” भन्ने अस्पष्ट जवाफ मात्र दिँदै आएको उल्लेख गरिएको छ। साथै, पारिश्रमिक मागेको कारण पत्रकार साहनीलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको संघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा ३४, श्रम ऐन २०७४ र श्रमजीवी पत्रकार ऐनले प्रत्याभूत गरेका पत्रकारहरूको श्रम अधिकार उल्लङ्घन हुनु गम्भीर विषय हो। पत्रकारलाई पारिश्रमिक नदिनु र कानुनी अधिकार माग्दा दमन गर्नु श्रम कानुनको उल्लङ्घन र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण हो।”
संघले एभिन्युज टेलिभिजनको व्यवस्थापनलाई एक महिनाभित्र पत्रकार प्रमोद राज साहनीसहित सबै संवाददातालाई बक्यौता पारिश्रमिक बिनासर्त भुक्तानी गर्न निर्देशन दिएको छ। त्यस्तो नभए संघले श्रम तथा रोजगार कार्यालय, मानव अधिकार आयोग र सम्बन्धित अदालतमा कानुनी उजुरी दर्ता गर्ने चेतावनी दिएको छ।
स्वतन्त्र पत्रकार संघ, मकवानपुरले नेपाल पत्रकार महासंघ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम तथा रोजगार कार्यालय र मानव अधिकार आयोगलाई यो घटनाको तत्काल छानबिन गरी कानुनअनुसार कारबाही अघि बढाउन औपचारिक अनुरोध गरेको छ।
संघले सबै सञ्चार गृहहरूलाई श्रम ऐन २०७४ र श्रमजीवी पत्रकार ऐनको कडाइका साथ पालना गर्न, पत्रकारको श्रम अधिकार, पेशागत सम्मान र आत्मसम्मानको संरक्षण गर्न आग्रह गरेको छ। साथै, पत्रकारहरूको पारिश्रमिक नदिने वा पेशागत अपमान गर्ने संस्थाहरूलाई ब्ल्याकलिस्ट गर्ने र त्यहाँ काम नगर्न सबै पत्रकार साथीहरूलाई आह्वान गर्ने निर्णय गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता लोकतन्त्रको स्तम्भ हो। श्रमको सम्मान बिना स्वतन्त्र पत्रकारिता सम्भव छैन।” संघले यस विषयमा सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

















