हेटौंडा/ मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चौँतिस लाख रुपैयाँ बराबरका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौडा उपमहानगरपालिका–१५, रातोमाटे स्थित चार्जिङ स्टेशन अगाडि पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान करिब ४:१० बजे बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ९०२३ नम्बरको योद्धा गाडी रोकी जाँच गरेको थियो।
प्रहरीले गाडीको पछाडिको ढालाभित्र लुकाइ–छिपाइ गरी ल्याइएका सामान फेला पारेको हो। सो क्रममा भन्सार छलि गरी ल्याइएका साडी १३० थान, कुर्था ६९६ थान, टप्स १७५ थान गरी जम्मा १,००१ थान कपडा बरामद गरिएको प्रहरीले जनाएको छ। यी सामानहरूको अनुमानित मूल्य रु.१४ लाख रहेको छ।
त्यसैगरी, गाडीभित्रै लुकाइएका प्रतिबन्धित पटकाजन्य झिरझिरे लगायतका पदार्थहरू समेत फेला परेका छन्, जसको अनुमानित मूल्य रु.२० लाख रहेको छ।
सोही क्रममा प्रहरीले गाडी चालक प्रदीप कुमार चौधरी (२० वर्ष), बृन्दावन नगरपालिका–९, रौतहट, र सवारीसाधनमा सवार विजय साह (३१ वर्ष), गरुडा नगरपालिका–४, रौतहट लाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको र बरामद सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने तयारी भइरहेको छ।

















