हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकाले नेपाल सरकारले जारी गरेको निर्णयअनुसार गाउँपालिकाभित्र प्लास्टिकजन्य फुलका गुच्छा र फुलमालाको उत्पादन, आयात, भण्डारण, विक्री तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने जनाएको छ।
गाउँपालिकाको प्रशासन शाखाबाट सार्वजनिक गरिएको सूचना अनुसार, मिति २०७९ साउन ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यस्ता प्लास्टिकजन्य सामग्रीहरूको उत्पादन र प्रयोग गैरकानूनी भएकोले त्यसको कार्यान्वयन स्थानीय तहबाट गर्न लागिएको हो।
तिहार, छठ लगायतका पर्व नजिकिँदै गर्दा बजारमा प्लास्टिक फुलमाला बिक्री वितरण बढ्न थालेको भन्दै गाउँपालिकाले त्यसलाई नियन्त्रण गर्न नागरिक, व्यापारी र धार्मिक संस्थाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।
सूचनामा भनिएको छ — “दीपावलीलाई मर्यादित र मौलिक संस्कृतिमा आधारित रही मनाउन, स्थानीयस्तरमा उत्पादन भएका सयपत्री, गोदावरी, मखमली लगायतका प्राकृतिक फूलहरू र तीबाट बनेका मालाहरूको प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउन सबैमा अनुरोध छ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले स्थानीय उत्पादकलाई प्रोत्साहन दिँदै वातावरणमैत्री र मौलिक परम्पराको संरक्षण गर्न यो कदम चालिएको बताए।
मनहरी गाउँपालिकाले “शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार; समृद्ध मनहरीको आधार” भन्ने नारा अनुरूप वातावरण संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिँदै आएको छ।

















