कमिटीमा नेता होइन, जनमत र कार्यकर्ता आधारित निर्णय हुनुपर्छ : वडा अध्यक्ष नविन सिग्देल

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष एवम् नेकपा (एमाले) का नेता नविन सिग्देलले पार्टीभित्रका निर्णयहरू नेता होइन, जनमत र कार्यकर्ता केन्द्रित दृष्टिकोणबाट हुनुपर्ने बताएका छन्।

उनका अनुसार कमिटी वा संगठनमा यदि निर्णयहरू केवल नेतामुखी हुने हो भने त्यसले पार्टीको मूल मर्ममाथि प्रहार गर्छ र संगठन व्यक्ति–केन्द्रित बन्ने खतरा रहन्छ।
“कार्यकर्ता र जनमत नचाहिने पार्टीले त जे गरे पनि हुन्छ,” सिग्देलले भने, “तर जनता र कार्यकर्ता परिचालनद्वारा लक्ष्य हासिल गर्ने उद्देश्य बोकेको पार्टीका लागि यो खतरनाक संकेत हो।”

फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले कमिटीका सदस्यहरूले विवेक गुमाउन नहुने र गलत रिपोर्ट वा भ्रामक जानकारी दिने प्रवृत्ति पार्टी निर्माणका लागि नभई विघटनतर्फ उन्मुख हुने चेतावनी दिएका छन्।
सिग्देलले पार्टीभित्र स्वस्थ बहस, सही सूचना प्रवाह र जनताको भावना अनुरूप निर्णय प्रक्रिया संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार पार्टीको दीर्घकालीन सफलता जनतामुखी दृष्टिकोण र कार्यकर्ताको सक्रिय सहभागितामा निर्भर हुन्छ।