थाहा नगरपालिकाद्वारा प्लाष्टिकका फूल बिक्री र प्रयोगमा प्रतिबन्ध स्थानीय उत्पादन र वातावरण संरक्षणमा नगरपालिकाको जोर

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका, मकवानपुरले नगरभित्र प्लाष्टिकका फूलहरूको बिक्री, वितरण र प्रयोग नगर्न अनुरोध गर्दै औपचारिक सूचना जारी गरेको छ। नगरपालिकाले २०८२ साल असोज २८ गते प्रकाशित गरेको सूचनामा वातावरण संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकता दिँदै प्लाष्टिकका फूलको प्रयोगले वातावरणमा गम्भीर असर पार्ने भएकाले प्रयोग नगर्न आग्रह गरेको हो।

सूचनामा उल्लेख छ — “प्लाष्टिकका फूलहरूले वातावरणीय क्षति पुर्‍याउने, माटोमा नकुहिने र सौन्दर्यमा समेत नकारात्मक असर पार्ने भएकाले स्वदेशी तथा प्राकृतिक फूलमालाको प्रयोग गर्न नगरबासीमा अनुरोध गर्दछौं।”

थाहा नगरपालिका कार्यपालिकाको कार्यालय, इन्द्रायणी चौर, मकवानपुरबाट जारी उक्त सूचनामा नगर क्षेत्रभित्र स्थानीय उत्पादन भएका प्राकृतिक फूलहरू प्रयोग गर्न सबैलाई प्रेरित गरिएको छ। नगरपालिकाले यस्तो निर्णयका माध्यमबाट पर्यावरणीय सन्तुलन कायम राख्ने, स्थानीय कृषकलाई प्रोत्साहन गर्ने, र स्वदेशी उत्पादनको बजार विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ।

नगरपालिकाले चेतावनी दिएको छ कि, यदि कसैले यो सूचना विपरीत प्लाष्टिकका फूलको व्यापार वा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइनेछ।

थाहा नगरपालिकाका अनुसार, नगरको विकासका आधारहरू — कृषि, पर्यटन र पूर्वाधार — लाई सुदृढ बनाउन यस किसिमका वातावरणमैत्री नीतिहरू लागू गरिँदैछन्।