हेटौंडा उपमहानगरपालिकाको नयाँ शववाहन सेवा सञ्चालनमा  गत भदौको जेनजी आन्दोलनका क्रममा जलेको शववाहनको स्थानमा नयाँ सवारी तयार, उपमहानगर प्रमुख भावुक

Image

हेटौंडा/ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिकाको शववाहन जलेपछि भावुक बनेकी उपमहानगर प्रमुखले नयाँ शववाहन तयार भएको जानकारी दिएकी छिन्।

उहाँका अनुसार, आन्दोलनका क्रममा नगरपालिकाको कार्यालयदेखि विभिन्न सार्वजनिक सम्पत्ति क्षतिग्रस्त भएका थिए। तर शववाहन जलेको खबर सुन्दा आफूले आँसु रोक्न नसकेको बताउँदै प्रमुखले भनिन्, “आफ्नै घर जल्दा पनि मन दुखेको थिएन, तर शववाहन जलेको सुन्दा निकै रोएँ।”

शववाहन व्यवस्थापन उपमहानगरपालिकाको सानो तर महत्वपूर्ण सेवा भएको बताउँदै उहाँले थपिन्, “जीवनको अत्यन्तै दुःखद समयमा शववाहनकै कारण नगरवासीले सास्ती भोग्न नपरोस् भन्ने सोचले मैले यो जिम्मेवारी आफैं लिएकी थिएँ।”

सरकारी खरिद प्रक्रिया सहज नभएकाले तत्काल नयाँ सवारी खरिद गर्न नसकिएको भए पनि अहिले नयाँ शववाहन सञ्चालनका लागि तयार भएको उहाँको भनाइ छ।

“अब कुनै परिवारले मृतकलाई बोक्न समस्या व्यहोर्नु पर्ने छैन,” उहाँले भनिन्, “उपमहानगरपालिकाको कार्यालय वा जनप्रतिनिधिलाई सम्पर्क गरेर यो सेवा लिन सकिनेछ।”

उहाँले अन्त्यमा भनिन्, “शववाहन नचाहिने मानिस धर्तीमा को जन्मिएको होला र! सबै जले पनि शववाहन जोगिएको भए, त्यो मानवीय चेतनाको उत्कृष्ट उदाहरण हुने थियो।”