हेटौंडा/ मिति २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण जिल्ला सरकारी वकिल कार्यालय हेटौंडा र उच्च अदालत (पाटन) हेटौंडा इजलासको नियमित न्यायिक कार्य सञ्चालनमा असहजता र अवरोध सिर्जना भएको थियो। जनताको न्यायिक सेवा सहज र प्रभावकारी बनाउनका लागि राक्सिराङ्ग गाउँपालिकाले ती कार्यालयहरूलाई आवश्यक उपकरण हस्तान्तरण गरेको छ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले संयुक्त रूपमा जिल्ला सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख विनोद पौडेल र उच्च अदालत (पाटन) हेटौंडा इजलासका रजिस्ट्रार बद्री लम्साललाई कम्प्युटर, स्क्यानर मेसिन र प्रिन्टर (प्रत्येकी एक/एक थान) हस्तान्तरण गर्नुभयो।
कार्यक्रमका अवसरमा अध्यक्ष मल्लले न्यायिक निकायको काम जनताको अधिकारसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने भएकाले स्थानीय तहको सहयोग आवश्यक हुने बताए। उनले गाउँपालिकाले आगामी दिनमा पनि जनसेवा प्रवाहमा सहयोग पु-याउने प्रतिबद्धता जनाए।
उपकरण हस्तान्तरणपछि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले राक्सिराङ्ग गाउँपालिकाप्रति आभार व्यक्त गर्दै सो सहयोगले कार्यालयको दैनिक कार्य सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।

















